कोरोनाको ‘काल महिमा’बाट सिक्नु पर्ने पाठ

रवि अधिकारी
हामीले दिन अघि मात्रै, झण्डै नौ हजार ज्यान सोत्तर पारेको (२०७२ सालको) भूकम्पको पांचौ वार्षिकी मनायौं। यो आपदाका हजारौ घाइते र लाखौं बेघरहरु बस्नलायक घर र ज्युनलायक जीवनमा फिर्नसक्ने बातावरण अझैपनि बन्न नसकेको अवस्थामै, टाउकामा झुण्डिएको नांगो तलवार जस्तो कोरोनाजन्य प्रलयले अब हाम्रामा कस्तो हाहाकार मच्चाउने हो, कल्पना समेत गर्न सक्ने अवस्था छैन।

कोरोनाको विश्वव्यापी पहुंच र हालसम्म उपचार नपाईनुले पनि यो नेपालको त्यो भूकम्पभन्दा प्रलयकारी रूप धारण गरेर मानव सभ्यताको विनास गरेर हिंडेकोछ। नेपालको त के कुरो, विश्वकै महाशक्ति मानिएको अमेरिकालाई पनि यसले हावाकावा खेलाएको छ।

मृतकहरुको संख्याको हिसाबले कोरोना विश्वका कुख्यात युद्धहरुको हाराहारिको नजिक त अझै पुगेको छैन तर यसको मानसिक असर भने ती नरसंहारहरु भन्दा कुनै हिसाबले कम छैन। सर्वत्र त्राहिमामको क्रन्दन सुनिन्छ। अमेरिकीहरुले कोरोनालाई पर्ल हार्वर (जापानद्वारा हवाई द्वीपमा भएको हमला) र ९/११ (अल कायदाले न्यू योर्कको विश्व व्यापर केन्द्रमा गरेको आतंकवादी प्रहार) भन्दा घातक भएको स्वीकारै गरिसके।

भनिन्छ, ईतिहासका त्रासदीहरुले भविष्य-निर्माणका लागि शिक्षा मात्र होइन सुध्रिने मौका पनि दिन्छ। आजको आधुनिक व्यवस्थापनको सिद्धान्तले पनि लगभग यस्तै कुरो गर्छ: ‘हरेक चुनौतीले नयाँ अवसरहरुको श्रीजना गर्छ।’

भो, सिद्धान्त र आदर्शका प्रवचनमा टाउको नदुखाई गाठी कुरोपट्टी लागौं: २०७२ सालको भूकम्पबाट हामीले के सिक्यौं त? अथवा, हामीले त्यो त्रासदीबाट शिक्षा लिंदै भविष्यका लागि कस्तो तयारी गर्यौं? चार वर्ष अघि भनिएको त्यो भविष्य वा भवितव्य, आजको कोरोना नै होइन त?

सायद, त्यो बेलाको जस्तै त्रिपाल, कम्बल, खाद्यान्न र अन्य राहत सामाग्रीहरुसंगै डलर पनि नेपाल भित्रिएको भए, आजको कोरोना विरुद्धको तयारी र चहलपहल अली बेग्लैखालको देखिन्थ्यो होला। हुनत मौका पर्दा, अन्तीम समयसम्म कामैनलाग्ने कोरोना टेस्टकिट, र प्रतिरक्षात्मक साधन, P.P.E. चीनबाट आयत गर्ने नाममा करोडौं रुपैयाँ ‘जो हाथ सो साथ’ त गरेकै हो भन्छन्।

पहाडतिर मेलापात हुँदा आलोपालो गरेर आयोजना गरिने संयुक्त खानपिन र तराइको समदर्का भोजको हाम्रो वर्षौं पूरानो संस्कार त भैगो बिर्सियौं रे! तर त्यै भूकम्पका बेला ईन्डियाका सिख समूदायले दैनिक १५ हजारभन्दा बढि भोकाहरुलाई कसरी लंगर ख्वाउन सके भनेर सिक्नसकेको भए मात्रै पनि आजको घर-घरमै नजरवन्द भएको जस्तो अवस्थामा, खानै नपाएर मरिन्छ कि भनेर चिन्ता गर्नु नपर्दो हो। यसो हुँदो हो त, हरेक विपदामा हाल्नेगरेको “खोलो तर्यो लौरो बिर्स्यो” उखान पनि यसपालाबाट फेरि कहिल्यै दोहोर्याउनु पर्दैनथ्यो।

आजको समयमा, दुबै, नेपालका सरकारी र गैरसरकारी व्यक्ती, संस्था, अभियान कोरोना संक्रमणको सम्भावनाले भन्दा अरुनै करणले अलि बढि निस्ताए जस्ता छन्। हरेक विपदाका नाममा दान दिने राष्ट्रहरु स्वयं कोरोनासंगको आ-आफ्नै संघर्षमा तल्लिन छन्। उनिहरुलाई आँफैसँग भएको श्रोत-साधन आफ्नै नागरिककालागि अपूग हुने अवस्था आइसकेको छ। संसारभरी महंगा, ज्यानमारा हातहतियार, गोली, तेल आदि बेचेर धनी, शक्तिशाली कहलिएकाहरु आज ईन्डियासँग औलो निको पार्ने गोली, हाइड्रोक्सीक्लोरोक्वीनको याचना गरिरहेका छन्।

फ्रान्स र जर्मनितिर निर्यात गर्न लागिएको अमेरिकाको 3M मास्क, राष्ट्रपती ट्रम्पले हामी आँफै कहां कमी छ, निर्यात गर्न पाइन्न भनेर रोक्दा, उनिमाथि डकैतिको आरोप समेत लागिसकेको छ। यस्तोमा, हाम्रा सिजनल नागरिक अभियन्ता र तिन्को झिल्के अभियान सुस्त हुनुको अर्थ बुझ्न आइनस्टाइन भैरहनु पर्दैन।

स्वत:स्फुर्त रूपमा, नुवाकोटबाट सप्तरीकालागी पैदलै कुच गर्दैगरेका ज्यालादारी मजदूरको जत्थाले सिन्धुलीतिरको बाटामा लाउनका लागि जुत्ता र खानका लागि बिस्कुट, चाउचाउ पाउनुले हाम्रो मनकारी चरित्र कुनाकप्चामै सहि, सास फेर्दै रहेछ भन्न त सकिन्छ। तर कोरोना स्तरको महामारीका बेला पनि करूणा, सद्भाव, सहयोग, संरक्षण, सुरक्षा जस्ता मानव समाजका नैसर्गिक तत्वहरु आन्दोलनको आकारमा प्रकट नहुनुले हामी मानव हुनुको अस्तित्वमै प्रश्न खडा गरेको छ।

ईन्डियाका आज तक र ए.बि.पीका गन्जागोल स्टाइलका रिपोर्टमा समेत हाइलाइट भएका “आशा” स्वयंसेवीहरु चप्पाचप्पा चहारेर प्रहरी, स्वास्थ्यकर्मीहरुसँग हातेमालो गर्दै — कतिपय ठाउँमा ज्यानै जोखिममा पारेर — कोरोना संक्रमितको पहिचान र परीक्षण गर्न र सामजमा राहत पुर्याउन निस्वार्थ अहोरात्र, अथक खटिएका छन्। त्यो मोडेलको गैरसरकारी आन्दोलन हाम्राहरुका लागी अनुत्पादक रहेछ भन्ने तथ्य यसपाला फेरि प्रमाणित भएको छ।

हाम्रामा, देशको प्रमुख भनिएको टेलिभिजन च्यानलमा रमिताको बातावरण छ। नेपालीमा एकाबिहानै Lockdown वा बन्दाबन्दीका कारणले भुस्याहा कुकुर, बांदरको चिन्ता गरेर रमाइला गफमा लामै समय खर्चिउन्जेल ‘अहिले खाए भरे के खाउँ’ समूहका नेपालका निरिह मानव जातिको कुरो, त्यै सम्वादमा नजोडीनुको पछुतो पट्यारलाग्दा गफाडीहरूलाई कहाँ छ र?

ग्राहक नपाएको नाममा, दूध उत्पादकहरुले बाटामाबाटामा दूधको खोलो बगाएको अनि पोल्ट्री फारामका मालिकहरुले ज्युंदै कुखुरा र तीनका अण्डा खाल्डामा गाडेको समाचारलाई मानवीय स्वरूप दिएर आमाले सानाछंदा सिकाए झैं, ‘खानेकुरा फाल्नु अघि खान नपाएकाहरुलाई सम्झिनु’ जस्तो एकलाइनकै समीर-सरिता प्रवाह गरेको भए के नै बिग्रन्थ्यो र? बरु, कुकुर र बांदरसँगै दर्शकको मानवियताको आँखोले आफूजस्तै हाड, छालाले बनेको मान्छे त देख्न पाउँथ्यो।

पत्रकार नारायण अमृत, गरीबलाई दिइने दानका बारे प्रयोगात्मक शैलीमा व्याख्या गर्छन्: “मेरो कोठा छेउमा सुकुम्बासी वस्ती छ। हरेक दिन एकाध बोरा सामान बोकेर सेल्फी समाजसेवी आउँछन्। तर खास सुकुम्बासीले रमिता मात्र हेर्छ। यो ताजुब र विडम्बनापूर्ण तस्बिर यो देशको सत्तालाई थाहा छैन। किनकि सत्ता सुतेको छ।”

फाल्न लागिएको २० लिटर दूधमा, अहिलेको सुन जस्तो अमूल्य २ किलो मात्रै चामल हालेर पकाउँदा कमसेकम २५-३० जनालाई खिरको भोज हुन्थ्यो। कुखुराको मासु, अण्डामा सहज उपलव्ध हरियो-परियो, गेडागुडी, आलुमा शुद्ध नून, पानी र बेसार हालेर बनाएको सुप पानी बोक्ने ट्यांकरमा बस्ती-बस्ती लग्न सकेको भए गरीबको कोरोना प्रतिरोधक शक्ति त बढ्ने थियो।

यसो हुन नसक्नुको २ प्रमुख कारण छन्: आफूलाई सहयोगी कहलाउन रुचाउने व्यक्ती/सरकारी कर्मचारी वा आवद्ध सरकारी वा गैरसरकारी संस्थाका निमित्त यो काममा हैरानी बाहेक फुट्टी फाईदा छैन। अर्को, खाद्य सामग्री सहयोगमा दान गर्नुसाटो फाल्नेहरुको मानसिकता, ‘सित्तैमा खान दियोभने मान्छेको बानी बिग्रन्छ र ववण्डर थामिएपछि त्यै माल मनपरी भाउमा बेच्न गाह्रो हुन्छ।’ तर जिम्मेवार सरकारले यस्तैबेलामा हो गर्न नचाहनेलाई पनि गर्न लगाउने।

अहिले प्रत्येक व्यक्तिले आफूलाई युद्धका बेलाको जस्तो मानवीयकरण गर्नु जरुरी भएको छ — आफू बाच्ने मात्र होइन, कम्तिमा आफू वरीपरिकालाई पनि बचाउने। त्यै टेलिभिजन च्यानलमा सानी नानीले हंसिलो अनुहार पारेर देखाएको प्लेकार्ड जस्तो: “मेरो कुकुर मेरो, तपाईंको कुकुर तपाईंको, र बाटाको कुकुर हामी सबैको।” अहिलेलाई, बाटाको कुकुरको दर्जामै सहि, हामी सबैले दीन, दु:खी, असहाय, भोका, नांगा, बेघर, रोगी आदिलाई उदार मनले सहयोग गरौं। आ-आफ्नो मानवतालाई नूतन छविमा उठाऔं।

बन्दाबन्दी खुलेको भोलिपल्ट के?
{Lockdown, social distance, isolation} अर्थात् बन्दाबन्दी, सामाजिक दूरी र एकान्तवास कोरोनाको महामारिबाट जोगिने सुरक्षात्मक तरीकाहरु हुनसक्छन् तर यसबाट बाच्ने एकमात्र उपायका रूपमा सरकार जसरी व्याख्या गर्दैछ, त्यो नै सबभन्दा घातक पक्ष हो, यो लडाईंको। हैनभने, मान्छेहरुको ब्रिहत्तर स्तरमा परीक्षण नहुँदै र परीक्षण भएको भनिएकाहरुको विश्वसनिय परीणाम नआउँदै राष्ट्रपतिले उनकै पर्टीको सरकारले बोलेको बोलीमा लाहाछाप लगाउनुले सत्तामा बस्नेहरुको ‘मेरो गोरुको बाह्रैटक्का’को संस्कार फेरिएकै छैन भन्दिदा पनि फरक पर्दैन।

जस्तो प्रधनामन्त्री ओलिले आफ्नो सबैभन्दा ताजा टेलिभिजन सम्वोधनमा भने, हामी यसरी कामधाम बन्द गरेर यति लामो घर बसेको सायद पहिलोपल्ट नै हुनुपर्छ। हो, जनता खान नपाएपनि शान्त छन्। उनिहरुलाई अरिंगालको डरले पनि तर्साउनु परेको छैन। तर प्रधनामन्त्री महोदय, यो भूसको आगोको अवस्थामा कहिलेसम्म रहने? हुरी-बतास चलेर गाउँ सखाप पार्नु अगावै पानी हालेर आगो सामसुम पार्नु पर्दैन र?

घर बस्दैमा, न नागरिकको दैनिकीको समस्या समाधान हुन्छ नत राष्ट्रको नागरिकप्रतिको उत्तरदायित्व नै पूरा हुन्छ। गतीशील, अग्रगामी नभएको राष्ट्र मसानघाट जस्तो हुन्छ। हो, अहिले देशमा मसानघाटमा जस्तो अप्रीय शान्ति छ। जनताको सेवा गर्ने सरकार त यो देशमा कहिले थियो र अहिले छ भन्नु। एकथरीलाई अल्पमतको भय थियो भने, यसबेला अर्काथरिलाई बहुमतको दम्भ छ।

अनि अर्को कुरो, संकटको यो बेलामा तपाईंका ‘वर्थलेस सेन्स अफ ह्युमर’ र आलोचकहरु प्रति घटिया घोचपेच प्रत्युत्पादक मात्रै हुनेछ। भरत जंगम भन्छन्: “प्रम ओलीको सम्वोधनले केही तात्विक सन्देश दिन नसक्नु स्वाभाविक हो। किनभने उनी भारतका मोदी बन्न त खोजेका हुन् तर सधैंको ठट्टाले आज लट्टा पार्यो!”

‘दुइतीहाइको सरकारमा जंगम भन्ने प्राणी को हो र,’ भन्दै तपाईं र तपाईंका अरिंगालहरु जाई लाग्नु सट्टा बरु शान्त मनले सोच्नुस्, के तपाईंले ईतिहासकै क्रुर भनिएको जंग बहादुरले यस्तो संकटका बेला दिएको उर्दीसमेत व्यवहारमा अक्षरश पालना गर्न सक्नुभएको छ कि छैन: “राष्ट्रिय संकटको घडीमा कसैले कालाबजारी गरेको थाहा भएमा मलाई भन्नुपर्दैन, पाँचजना साक्षी राखेर काटीदिए हुन्छ।”

सक्नुहुन्छ केही गरेर देखाउनुस्, हैन भने कृपया हाइड्रोजन भरिएको बलुन जस्तो नउड्नुस्। हावा खुस्कने बित्तिकै सिमलको रुखमा झुण्डिएर अड्किनेहरुको ठूलै जत्था छ, हाम्रै नेपालमा।

कोरोनाका कारण, बन्दाबन्दीको यो बेलामा, खान नपाए पनि मान्छेहरु चुप्प लाग्नुको प्रमुख कारण सरकारको समर्थन र सफलता हो भन्ने अर्थ लगाइनु अर्को महाभूल हुनेछ। परिस्थितीले, मान्छेहरुका सामू भोक र मृत्यु मध्ये एउटाको मात्र विकल्प छाडेको छ। मृत्युभयले मान्छे आपसेआप बन्दी भएको मात्रै हो। दुश्मनको ईलाकामा लडाकू बिमानबाट खसालिएको एक्लो घाइते सैनिक जस्तो। ज्यान त छ। तर कहाँ, कस्ले, कुन बेला मार्छ थाहा नभए जस्तो!

यो सुनसान अवधिको फाईदा उठाएर सडक पोतपात गर्नु नीश्चय पनि स्वागतयोग्य कुरो हो। पोतपातसंगै, कुशल ट्राफिक व्यवस्था, प्रदूषक थोत्रा साधनहरुको वहिर्गमन, सरसफाइ, सर्वजनिक यातायातको ज्यानमारा भिडभाड आदि पनि ठेगानमा आउनसके सुनमा सुगन्ध हुन्थ्यो। तर नागरिकले अहिलेको बन्दी जीवनबाट बाहिर निस्किए पछि रंगिचंगी सडक वा छर्लङ खुलेको आकाश हेर्न खोजेकै होइन। मृत्युको भयबाट स्वतन्त्र हुँदै सामान्य जीवन बाँच्न चाहेको हो।

अहिले सबैको नभए पनि कमसेकम ठूला शहरमा बस्ने अधिकांस मान्छेको थूक, र्याल, सिगान, रगत जे भएपनि जांचेर संक्रमित र शुद्ध मान्छे छुट्याउने काम गरियो भने मात्रै यो बन्दाबन्दी अनुशासनको अभिष्ठ पूरा हुनेछ। यस्तो जांच गर्न — दक्षीण कोरियामा निकै पहिले नै देखिसकिएको — टोलटोलमा टेलिफोनको बूथ जस्तो सुरक्षित परीक्षण स्थल बनाउने कामको जिम्मा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिन किन र कसरी ढीलो भयो त्यो पनि नसोधी रहन सकिदैन।

“मेरो पालो त ४८ वर्षपछि तपार्ईको पालो नि?”, प्रवेश ढकाल सोध्छन्। गणीत, कानून र अडिटिङ तीनैथोक जानेका ढकालको गणीतिय तर्कमा दम छ है: “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार हालसम्म जम्मा १,५२१ जनाको मात्र कोरोना परीक्षण गरिएको छ। २०६८ को जनगणना हेर्दा नेपालको जनसंख्या २,६४,९४,५०४ (हालसम्मको वृद्धि बाहेक) छ। अहिलेसम्म गरेको परीक्षणलाई दैनिक परीक्षण क्षमता मान्ने हो भने पनि मेरो कोरोना परीक्षणको पालो ४८ (२६४९४५०४ ÷ १५२१ = १७४१९ दिन ÷ ३६५ = ४७.७२) वर्षमा आउने रहेछ। मेरो उमेर ६० छ, सोर्सफोर्स नलगाएर पालो कुर्दा म १०८ वर्षको पुग्ने रहेछु। अब मैले परीक्षण पर्खेर बस्ने कि ‘एकबारको जूनिमा’ गाएर मोजमस्ती गर्ने..?”

मुखियाहरुको फरक बोल
ईन्डियामा कोरोनाको माम्लोमा देखिएको वृहत राजनीतिक एकवद्धतालाई राष्ट्रिय सहमति मानिएको छ भने हामिकहाँको राजनीतिक सहमतिलाई ‘तै चुप् मै चुप्’का रूपमा हेरिनु अचम्म लाग्ने कुरोनै होइन। बोलेकै नबुझिने, बोल्नै नजान्ने र फाईदा अनुसार बोल्नेहरुको कुरो यहाँ भएकै होइन। ती कुरो गर्न लायकनै छैनन्।

यहां त “बोलिस भने तेरो पनि कच्चा चिट्ठा खोल्दिन्छु”को घ्रीणीत खेलबाट सत्तावृत्तमै हुनेहरु नै नजोगिने अवस्थामा छन् भने विपक्षीहरुको झन के हिम्मत। आखिर, दूधले नुहाएका त को नै छन् र?

अहिले कोरोनाको व्यापक संक्रमण र बढ्दो मृत्युको परीप्रेक्षमा हेर्दा अमेरिकाको अवस्था दु:खदायीभन्दा पनि माथिल्लो दर्जाको देखिन्छ। यसो हुनुमा, पूंजिवादी अर्थव्यवस्थासँग निजी लाभको नाताले जोडीएका नेता, व्यापारी, बिचौलिया र कर्मचारीहरुको चलखेलको भूमिका त छ नै, संघ (राष्ट्रपती) र राज्य (गवर्नर)को आ-आफ्नो कानून र अधिकारको खिचातानिमा सर्वसाधारणको हीतसमेत घुनसरी पिसिएको छ।

प्रजातन्त्रको २३० वर्षभन्दा पुरानो ईतिहास रहेको अमेरिकामा, संघ र राज्यहरुको अधिकार क्षेत्रको कुरोमा घचपच भैरहन्छ। किनभने प्रजातन्त्रमा, देश र जनताको सर्वांगिण हीतका लागि, आलोचना, बिचार-बिमर्श र समयानुकूल परिवर्तनको बाटो बन्द गरेर शासन गरिदैन। यो संकट टरेपछि, अमेरिकाले स्वास्थ्य, शिक्षा, आवास जस्ता क्षेत्रहरुमा नयाँ सोचका साथ जनहितकारी नियमहरु नबनाई धरै छैन।

तर अहिले लथालिंग भएको जस्तो स्थिती मात्रै देखेर, नेपालकाहरुले ‘अमेरिकाको के कुरो गर्नु, त्यहां त हामीभन्दा खत्तम रहेछ’ शैलीको वक्तव्यवाजी गरेर नाक घोक्र्याउनुलाई बौलाहाले सिंहदरवार अघिल्तिर बसेर ‘बुझिस्, यो घर मेरो हो’ भनेर कुर्लनुसँग मित लगाउन सकिन्छ। ‘अमेरिकामा त भेन्टिलेटर रै’नछ’ गरेर फिस्स हाँस्ने अर्काथरी अरिङ्गालहरु नेपालमा एकलाख चौध हजार मान्छेका लागि जम्मा एउटा भेन्टिलेटर छ सुनेर पनि नआत्तिनु विक्षिप्त मनसिकताको पराकाष्ठा बहेक अरु केही होइन।

अमेरिकामा जस्तो, संघ र राज्यहरुको अधिकारका कुरालाई लिएर, कोरोनाको संक्रमण रोक्न, राज्यैपिच्छे कसैले बन्दाबन्दी गर्ने, कसैले नगर्ने निर्णयको दोधार नेपालमा त छैन नि! सात मध्ये एउटा प्रदेशमा मात्रै ‘अरुको’ सरकार रहेको र ती सबैले माओको रातो डायरीबाट निस्केको डिक्टाट सरह केन्द्रको दुइतीहाईको शासनका निर्देशन पालना गर्नैपर्ने अवस्थामा पनि प्रदेश, प्रदेशका मुखियाहरुको भिन्न भिन्न अलाप सुनिदैछ।

सकारात्मक आँखाले हेर्ने हो भने यो ठीक पनि हो किनभने सबैतिरको अवस्था एकैखालको हुँदैन। तर डिक्टाट फलो गर्ने नाममा, महामारीका बेलामा समेत विवेकशून्य भएर बोल्नु वा आँखा बन्द गरेर खल्डामा जाकिने कदम चाल्नुले महामारीको आगोमा मट्टितेल मात्रै खन्याउँछ।

एकातिर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिनेछैन भन्ने आधार तय भइसकेको ठोकुवा गर्दै, भन्छन्: “कोरोना भाइरसका कारण साधन स्रोतले सम्पन्न भएका र आर्थिक रुपमा समेत सशक्त देशलाई हायलकायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौँमा सङ्क्रमण फैलने र हजारौँ मानिस मारिन सक्ने चर्चापरिचर्चा भएकै हो।”

“तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ,” पौडेलले आँखा बन्द गरेर डिक्टाट फलो गरेका हुन् भन्नलाई यहाँं दिमाग खर्चिनु मुर्ख्याई मात्र हुन्छ।

अर्कातिर, सुदूर पश्चिम प्रदेश, जहाँं ईन्डियाबाट आफ्नो घर फर्किएर ‘मर्नुपरे पनि नेपालमा आफ्नो परिवारसंगै मर्छौं’ भन्दै ज्यानकै बाजी लगाएर महकलीको भेलमा भकाभक फाल हान्दैगरेका ध्याडी-मजदूरहरुको व्यथामा देशै रोइरहेको अवस्था छ। धनगढीमा, प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको संकटलाई महामारिकै दर्जामा हेरेर चिन्ता व्यक्त गर्दैछन् — कमसेकम वक्तव्यहरुमा।

ईन्डियाका ठूला र साना शहरहरुबाट कयौंदिन सहश्र परिस्थिती र मान्छेहरुको संसर्गमा रहदै-बस्दै, सलह सरी ओइरिएका यी भाग्यले ठगेको नेपालीहरु मध्ये केहीबाट नेपालभित्रै संक्रमण शुरु भैसकेको तथ्य सामुन्ने आएको छ। यी मान्छेहरु, दिल्लीको निजामुद्दिन मरकजबाट निस्केर ईन्डियाभरी सुपर क्यारियरको अवतारमा जसरी फैलिए, त्यसरी नफैलिउन् भन्न तुरुन्तै प्रभावकारी कदम चाल्न ढिलो नै भैसक्यो।

फेरी एकचोटि अन्त्यतिर, ‘कोरोना संक्रमणको भयले बन्दाबन्दीको अवस्थामा, सामाजिक दूरी कायम गरेर किन बस्नुपरेको होला’ भन्ने यक्षप्रश्नको सामान्य भाषामा बुझ्न सकिने वैज्ञानीक उत्तर राम्रोसँग बुझौं: “एउटा संक्रमित मान्छे घरमै बन्द रहेर, सामाजिक दूरी कायम गर्दै बस्यो भने उसले एक महिनाको अवधिमा तीनजना भन्दा कमलाई कोरोना सार्ने सम्भावना हुन्छ। धेरै भए ऊ र उसको परिवार! तर त्यै संक्रमित व्यक्ति खुलेआम हिडडूल गरिरह्यो भने त्यै एक महीनाको समयमा उसले झन्डै ५ सय मान्छेलाई यो घातक रोग सार्न सक्छ।“

अर्थात, एउटाको मूर्ख्याइंले पूरै समाज ध्वस्त! कृपया, ‘एउटाले बिरायो शाखा पिरायो’को त्यो एउटा घृणित पात्र बन्नबाट हामी सबै जोगिउँ।

मुलुकभरीमै सवैभन्दा बढि कोरोनाको संक्रमण सुदूर पश्चिममै देखिनुको कारणलाई माथिको सन्दर्भसँग हुबहु मिलाएर हेर्न सकिन्छ। यसैले होला, डोरमणिको उपबुज्रुक्याइंलाई धोती लगाउंदै त्रिलोचनले सवैलाई लकडाउनको पूर्ण पालना गरेर घरभित्र बस्न आग्रह गरेका छन्।

“बाहिरी मुलुकबाट आउने दाजुभाई तथा दिदीवहिनीलाई आफन्त, नातेदारहरुको स्वास्थ्यको ख्याल राखी २१ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्न र त्यस्ता व्यक्तीको सम्पर्कमा आएकाले स्वास्थ्य संस्थामा आई जाँच गराउन अपिल गर्दछु।“

ईन्डियाबाट — खासगरी मरकजको तब्लिगी भेलाबाट फर्किएका जमातीहरु — सिराहा, सप्तरी, मोरङ, सुनसरी, बाँके वा अरु कतै लुकेका छन् भने तिन्ले स्वस्थ्य मान्छेहरुलाई गर्नसक्ने हानी-नोक्सानीको जिम्मेवारीबाट न त्यो समूदाय जोगिन सक्छ नत स्थानीय, र दुइतीहाइको केन्द्र सरकार नै। महमारीको काल हाम्रामाथि मडारिएको यो बेलामा हामी सबैले बुझ्नुपर्ने के हो भने, काल धर्म, जात, लिंग, वर्ण, आर्थिक अवस्था जस्त्ता कुराको भौतिक सीमा रेखाले रोकिदैन।

कविशिरोमणी त कोरोना नदेखिकनै परलोक गए तर उनका दिव्य चक्षुले कोरोनाभित्रको काललाई भलिभांती पहिचान गरेको थियो र त उनले कालको महिमा उहिल्यै जसरी कविताहरुमा गाए, त्यो आज स्पेन, इटली, चीन, अमेरिका, ब्राजिलदेखी नेपालसम्म एकसमान चरितार्थ हुँदोछ:

“राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो।

आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो॥

लाखौँ औषाधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो।

व्याधातुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो॥”

ताजा अपडेट

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट...

चर्चित

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...